सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता सकारात्मक : शिक्षकले लिए आन्दोलन फिर्ता

काठमाडौं ! सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता निष्कर्षमा पुगेको छ ।

शिक्षासम्बन्धी कानून निर्माणका विषयमा मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमतिसँगै शिक्षकहरूको आन्दोलन फिर्ता हुने भएको छ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षामन्त्री, कानूनमन्त्री र सञ्चारमन्त्रीसहित वार्ता भएको
हो।

वार्ताअघि शिक्षा सचिव सुरेश अधिकारी र शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरको नेतृत्वमा बैठक बसेर सहमतिको ड्राफ्ट तयार पारिएको थियो ।

‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका देहायका व्यवस्थाहरूमा संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने,’ सहमतिको ड्राफ्टमा  भनिएको थियो ।

अन्तिममा सोही ड्राफ्टमा सहमति जुटेको हो । आन्दोलन टुंग्याउने विषयमा शिक्षकहरूसँग सहमति भएको सरकारकी प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।