सरकार र आन्दोलनरत शिक्षकहरूबीच आजपनि वार्ता हुने

काठमाडौँ !  प्रस्तावित शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरू र सरकारबीच शुक्रबार अर्को चरणको औपचारिक वार्ता हुने भएको छ।

बिहीबार बेलुका भएको बैठक ढिला गरी सकिएको थियो। गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसमेतको उपस्थितिमा भएको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो। सोही कारण बैठक आज बिहान पुन:बस्न लागेको हो।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार शुक्रबार बिहान ९ बजे शिक्षकहरूका मागका विषयमा औपचारिक छलफल गर्ने गरी बिहीबारको बैठक सकिएको छ।

प्रस्तावित शिक्षा विधेयकको विरोध गर्दै शिक्षकहरुले गरेको आन्दोलनका कारण २ दिनदेखि राजधानीको जनजीवन अस्तव्यस्त बनेको छ।