उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं  – उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजे बस्ने गरी संयन्त्रको बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका विषयमा छलफल हुने छ । त्यसैगरी सरकारले संसद्मा पेश गरेका छ वटा अध्यादेश पारित गर्ने विकल्पका विषयमा पनि छलफल हुने छ ।

संयन्त्रमा एमालेबाट प्रधानमन्त्री ओलीसहित, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुने छ ।

काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा सहभागी हुनुहुने छ ।

सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन । आजको बैठकमा उक्त अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ ।