माओवादी स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज पनि बस्दैछ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यसूची छ ।

बैठक हिजै समापन गर्ने तयारी गरिएपनि प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारण आजका लागि सारिएको हो । हिजोको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने बताएका थिए ।

राष्ट्रियसभाको ठूलो दलको हैसियतले अध्यक्ष छाड्नुहुन्न भन्ने धारणा अधिकांश स्थायी समिति सदस्यहरुको रहेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यही फागुन २० गतेदेखि राष्ट्रियसभा अध्यक्षको पद रिक्त हुँदैछ । बैठकबाट नेताहरुको कार्यविभाजन गर्ने बताइएपनि त्यसबारेमा भने कुनै निर्णय हुनसकेन । कार्य विभाजनका विभिन्न विकल्पबारे छलफल भएको सो पार्टीले जनाएको छ ।