काठमाडौं- प्रदेशका इञ्चार्जको रिपोर्टिङ सकिएसगै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज आफ्नो धारणा राख्दै हुनुहुन्छ ।
सो पार्टीको केन्द्रीय समितिको बैठक हिजोदेखि काठमाण्डौमा सुरु भएको हो । विधान सम्मेलनको तयारीमा रहेको माओवादीले त्यसैको तयारी र जनतासँग माओवादी विशेष अभियान’ को विशेष समीक्षा गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो ।
हिजोको बैठकमा प्रदेशका ‘इञ्चार्ज’ र अध्यक्षहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा जानकारी गराउनुभएको पार्टी सचिव गणेश साहले जानकारी दिनुभयो ।
रिपोर्टिङका क्रममा उहाँहरुले रुपान्तरण अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको र पार्टीमा पुनः जीवन प्राप्त भएको बताउनुभएको थियो । पार्टी कमजोर अवस्थामा रहेका प्रदेश र जिल्लामा निरन्तररुपमा अभियान चलाउनुपर्ने उहाँहरुको भनाइ थियो ।
माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।
माओवादी केन्द्रले भोलिदेखि राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले प्रस्ताव गरेको विधानमा माओवादीको स्थायी समिति बैठकमा छलफल भैसकेको छ ।