विधान मस्याैदाबारेमा छलफल गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं ! विधान मस्यौदामाथि छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शनिबार बस्दैछ।

बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ।

बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ। सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादीले जनाएको छ।

माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो।

सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो।