पार्टी विधानसम्मत नचलेको भन्दै माओवादी केन्द्रीय सदस्यहरुको तीब्र असन्तुष्टि

काठमाडौँ ! नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधानअनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन्। उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन्।

बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताइन्। उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताइन्। सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्। पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्ने उनले माग गरिन्।

त्यस्तै, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताए। ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिष्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताए। उनले माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *