विदेशिएका युवालाई फर्काउनुपर्ने बेला आएको छ : मन्त्री भण्डारी

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विदेशीएका युवाहरुलाई फर्काउने बेला भएको बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श संघको २८औँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमै रोजगारी विस्तार गर्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अरु देशले नेपालमा सम्भावना देख्ने अनि हामीले अन्यत्र सम्भावना देख्ने अवस्था कहिले सम्म रहन्छ ? अब हाम्रा दक्ष जनसक्तिलाई नेपालमै श्रम र रोजगारीको वातावरण श्रृजना गर्नुपर्छ । यसमा सरकार प्रतिवद्ध भएर लागेको छ । हाम्रो मन्त्रालयले स्टार्टअप नेशन २०३० लगायतका युवा लक्षित केहि कार्यक्रम ल्याएको छ । दक्ष जनसक्ति उत्पादन गर्ने भुमिका शैक्षीक जगतका व्यक्तिहरुको पनि हो । तपाईको भुमिकामा साथ दिन सरकार तयार छ ।’
मन्त्री भण्डारीले नेपाल शैक्षिक केन्द्रको हव बन्न सक्ने बताउनुभएको छ । उहाँले हाम्रा उत्पादन र उत्पादकत्वलाई विश्व बजारमा निर्यात गर्नुपर्ने बताउनुभयो । नेपालका व्यवसायीले उत्पादन गरेका बस्तु खपतका लागि छिमेकी मुलुक भारत र चिन संग सहकार्य गर्ने बताउनुभयो ।
नयाँ सोच र चिन्तनहरुमा राज्यको सहयोग र सर्मथन रहने मन्त्री भण्डारीको भनाई छ । सरकारले युवाहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको उहाँको भनाई छ । मन्त्री भण्डारीले लगानी सम्मेलनका क्रममा पूजिँ र प्रविधि भित्र्याउने तयारी गरेको बताउनुभयो ।
उहाँले ज्ञानसिप प्राप्त गरेका जनशक्तिहरुलाई नेपाल फर्काउने अभियानमा शैक्षिक परामर्श संघको भुमिका रहेको बताउनुभयो ।