युवा उद्यमीहरुलाई व्यवसायमा प्रोत्साहन गर्न सरकार तत्पर छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं ! उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमीहरुलाई व्यवसायमा प्रोत्साहन गर्न सरकार तत्पर रहेको बताएका छन् ।

शुक्रबार नेपाली युवा उद्यमी मंचको २० औं साधारण सभामा बोल्दै भण्डारीले सरकार ब्यवसायीको गिरेको मनोबल बढाउन लागिरहेका बताएका छन् । उनले खासगरी युवा उद्यमीहरुका लागि प्रोत्साहन गर्न सरकारले स्टार्टप नीति ल्याएको बताएका छन्। उनले यतिबेला विश्वबजारमै व्यवसाय खस्कदो अवस्थामा रहेको र त्यसलाई माथि उकास्न राज्यले नै पहलकदमी लिनुपर्नेमा जोड दिए। मन्त्री भण्डारीले बर्तमान सरकारले उद्योगीहरुसँग बसेर देखिएका समस्याहरुको हल गर्ने बताएका छन्। उनले यतिबेला लाइन काटेर एकातिर नेपालमा उत्पादन भएको विद्युत खेर जाने अर्कोतिर उद्योगको उत्पादन घट्ने युवाहरु रोजगारको अवसरबाट बन्चित हुने काम अहिलेको सरकारले नगर्ने बताएका हुन् ।

डेडिकेटेड लाइन र ट्रक लाइनमा व्यवसायी र प्राधिकरण बीचको विवाद छ। त्यो सरकारले समाधान गर्छ विगतमा आयोग पनि बनेको छ आयोगले दिएको सुझाव अनुसार सरकारले त्यसको अध्ययन गरेर आवश्यक प्रकृया अगाडि बढाउँछ तर त्यो बिगतको समस्यालाई लिएर सरकारले अहिले ब्यवसायी लाई दु :ख दिने काम गर्दैन ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री दिपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारीसहित प्राधिकरणका पदाधिकारी र उद्योगीहरूसँग छलफल गरी कुनै पनि हालतमा काटिएको लाइन शुक्रवार नै जोडिदिन निर्देशन दिएका थिए ।

उक्त कार्यक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल,वरिष्ठ उपाध्यक्ष लगायत उद्योग ब्यवसायीहरुको बाक्लो उपस्थिति थियो। उक्त कार्यक्रम नेपाली युवा उद्यमी मंचकी अध्यक्ष सहरा जोशीको अध्यक्षतामा भएको थियो भने उक्त साधारण सभाले नयाँ कार्यसमिति पनि चयन गरेको छ।