सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी

काठमाडौं ! सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र  पार्टीका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै आएका थिए । मन्त्रिपरिषद् गठन भएपछि मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्ने व्यवस्था भएपनि सरकारले कानूनबमोजिम भन्दै त्यसलाई गोप्य राख्दै आएको थियो ।

मन्त्रिपरिषद्ले निर्णय गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्राप्त मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन राज्यमन्त्री हसिना खानबाहेक सबैले सम्पत्ति विवरण बुझाएका छन् ।