संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी लगानीमैत्री वातावरण सिर्जना गर्छौंः उद्योगमन्त्री भण्डारी

काठमाडौं ! उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग,लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन्।

सोमबार नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको काठमाडौंमा भएको १८ औं वार्षिक साधारणसभामा बोल्दै उद्योगमन्त्री भण्डारीले सरकारले उद्योगमैत्री कानुन बनाएर अन्तिम चरणमा पुर्‍याएकाे दाबी गरे।

उनले सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको बताए।

उद्योगमन्त्री भण्डारीले समयाअनुकूल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयानुकूल अगाडि बढाउने बताए।

उनले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडिबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे।

उनले करको विषयमा उद्योगी व्यवसायीहरूका असहमतिलाई नीतिगत रूपमा समाधान गर्नेगरी बजेट आउने जानकारी दिए।

उनले विश्व बजारसँग प्रतिष्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतहरूमा बढी केन्द्रित वस्तुहरू उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गरे।

मन्त्री भण्डारीले नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरुलाई निर्यात गर्ने वातावरण बनाउनु पर्ने बताए।

उनले उद्योग नीतिमा भएका अस्पष्टताहरुलाई सरकारले चाँडै समाधान गर्ने प्रतिवद्धता जनाए।

१० वटा उद्योगसँग सम्बन्धित ऐनहरू संशोधन गरेर उद्योगी व्यवसायीहरू उद्योग मन्त्रालय आएर मागहरू पूरा गरौं भन्ने देउसीभैलीको अन्त्य गरी ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गरिने उनको भनाइ थियो।

मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याउन लागेको पनि बताए।

उनले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउन लागेको जानकारी दिए।

उनले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताए।