एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौँः मन्त्री अधिकारी

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताएका छन्।

सोमवार ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले ०७७ सालमै एउटै व्यक्ति एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नपाउने भनिए पनि अहिले चार वटाभन्दा बढीमा रहेको भन्दै यसलाई नियन्त्रण गर्ने नीति ल्याइने बताए।

मन्त्री अधिकारीले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकार मात्रै नभई सहकारी अभियान्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताए।

उनले सहकारीभित्र देखिएका अहिलेका समस्या समाधान गर्न अहिलेसम्म भएका त्रुटिबारे खोजी गर्न जरुरी रहेको बताए। उनले सहकारीसँग सरकार, सहकारी र सर्वसाधारण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताए। उनले सहकारीहरू ऐन, नियम पूरा गरेर दर्ता गर्ने तर सहकारीको उद्देश्यअनुसार काम नगर्दा सहकारीमा समस्या आएको बताए।

उनले सहकारीहरूले सबैभन्दा पहिला सहकारीको उद्देश्य पूरा गर्न लाग्नुको विकल्प नभएको बताए। उनले राष्ट्रिय सहकारीअन्तर्गत भएका सबै निकायमा कमजोरी गर्नेलाई कारबाही गर्ने बताए।

उनले भने, ‘सहकारीभित्र देखिएका अहिलेका समस्या समाधान गर्नका लागि कहाँ–कहाँबाट त्रुटि भयो सबैले खोज्न जरुरी छ। सहकारी भनेको सामूहिक भावनाबाट अघि बढ्ने हो भने सरकार, सहकारी र सर्वसाधारण जोडिएका छन्। त्यस कारण यो सरकारको मात्रै हो भनेर हेर्ने दृष्टिकोण बनाउनु हुँदैन। हाम्रो पनि दायित्व हो। हामीले पनि पहल गर्नुपर्छ भनेर लाग्यौं भने मात्रै समाधान हुन्छ। सहकारीहरु ऐन नियम पूरा गरेर दर्ता गर्ने गरेका हुन्छन् तर काम गर्ने बेलामा विपरीत गरिदिन्छन्। अहिले सहकारीरमा भएको पनि त्यही हो।’

उनले कमजोरी गर्नेलाई सरकारले कारबाही गरेरै छाड्ने बताए। उनले सहकारी स्थानीय तहमा दर्ता गर्ने प्रावधानसँगै खारेज गर्ने अधिकार पनि दिन आवश्यक रहेको बताए।