उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै

काठमाडौं- जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै हुनुहुन्छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको थियो ।

भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्वपूर्ण हुने बताउनुभएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्नुभएको थियो । सो भेटवार्तामा उहाँहरुबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुखसमेत हुनुहुन्छ ।

बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । सो क्रममा उहाँले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गर्नुभएको थियो ।

सोही दौरान उहाँले चीनकै दक्षिण पश्चिमी सहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबीच प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधामन्त्री श्रेष्ठले नेपाल र चीन आर्थिक समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताउनुभएको थियो ।