विपिन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री साउदले भेटे कतारका प्रधानमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग शिष्टाचार भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा उनीहरूबिच सोमबार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरिएको स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस जसरी मानवीय मामिलामा कतार अधिराज्यसँगको नेपाल सरकारले उच्च आशा गरेको बताए ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताए । उनले चाँडै सकारात्मक परिणाम आउन सक्ने सङ्केत समेत गरे । उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताए ।