कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना, आजदेखि सेवा प्रदान सुरु

काठमाण्डौँ । सेवाग्राहीहरूलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उदेश्यले बाँकेको कोहलपुरमा पनि नापी तथा मालपोत कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ ।
बुधबार एक कार्यक्रमका बीच भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले उद्घाटन गरेसँगै सेवा सुचारु भएको छ । यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरिएको हो ।

२०७८ चैत १७ गतेको मन्त्री परिषद बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशाला, रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्री श्रेष्ठले चुस्तदुरुस्तका साथ निर्णय कार्यान्वयन गर्न लागि परेकी छिन् ।

सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले मालपोत तथा नापी कार्यालयमा जाँदा विभिन्न प्राविधिक समस्याहरु भोग्न पर्ने भन्दै आएका गुनासो न्यूनीकरण गर्न आफू लागि परेको बताइन् ।

‘हाम्रो मातहतका कार्यालयमा सेवा लिन जाँदा विभिन्न खाले समस्याहरु भएको भन्दै समयसमयमा गुनासो आउने गरेको छ । नागरिकहरूबाट आएको गुनासोलाई मैले नजिकबाट नियालेको छु ’, मन्त्री श्रेष्ठले भनिन्, ‘यस्ता खालका गुनासो न्यूनीकरण गर्दै नापनक्सा तथा जग्गा प्रशासन कार्यलाई थप प्रभावकारी, उत्तरदायी, पारदर्शी र गुणस्तरीय बनाउने कार्यमा म र मेरो नेतृत्वको सम्पूर्ण मन्त्रालय तथा विभागका कर्मचारीहरु
क्रियाशील हुँदै आवश्यक नीति तथा कार्यक्रम बनाएर निरन्तर कार्यान्वयन गरिरहेका छौँ ।

आम नागरिकहरूबाट आएको सुझावलाई मध्यनजर गरी आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि शाखा बिस्तार गर्दै जाने उनले बताइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नापी विभागका प्रकाश जोशी, कार्यालयका प्रमुखहरू, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसमलाल चौधरी लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।