अर्थमन्त्री डा. महत स्वदेश फिर्ता

काठमाडौं ! अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा बैंकका ८६ सदस्य राष्‍ट्रको सहभागिता रहेको थियो ।

उच्चस्तरीय बैठकका अवसरमा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्‍ट्रलाई गरेका छन् ।

बैठकमा अर्थमन्त्री डा. महतले विश्‍व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए ।  उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरे ।

न्यून आय भएका मुलुकका लागि आर्थिक पुनर्उत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तार, प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत सहयोग जस्ता माध्यमबाट एआइआइबी लगायतका बहुपक्षीय विकास बैंकहरूले महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने तथ्य प्रस्तुत गरे ।