अर्थमन्त्री महत इजिप्ट प्रस्थान

काठमाडौं ! अर्थमन्त्री डा. प्रकाशशरण महत शुक्रबार इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन् । एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबि) को बार्षिक बैठकमा सहभागी हुन उनी कायरो प्रस्थान गरेका हुन् ।

उनले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउने छन् । उनको साथमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।

बैठकमा दिगो सीमापार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने, उद्यमान बजारहरूमा दिगो पूर्वाधारको लागि निजी इक्विटी जुटाउने छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ । यसका साथै हरित र प्रविधि-सक्षम पूर्वाधारमा स्टार्ट-अपहरूको लागि भेन्चर क्यापिटल सोकेसको विकास गर्ने, जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्ने लगायतका विषयहरूमा छलफल हुने बताइएको छ ।