यस्तो रह्यो मन्त्री भण्डारीको ५ दिने सुदूरपश्चिम भ्रमण

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी सहित सुदूरपश्चिम प्रदेशका जिल्लाहरू र लुम्बिनी प्रदेशको बाँके जिल्ला भ्रमण पछि मङ्गलवार राजधानी फर्कनु भएको छ ।

मन्त्री भण्डारी उक्त क्षेत्रमा रहँदा करिब १ दर्जन कार्यक्रमहरूमा सहभागी हुनुभयो । मन्त्री भण्डारी पुगेका हरेक ठाउँमा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्ना अपेक्षा सुनाएका छन् । मन्त्री भण्डारीले जनअपेक्षा अनुरूपको काम गर्नका लागि आफु तत्पर रहेको बताउनुभएको छ । जनताका गुनासा सुन्न र समाधान गर्नका लागि मन्त्री पदमा रहँदासम्म परिपक्व तवरले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले फागुन ५ मा कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि बेदकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्र सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको र ढिलोमा दुई साताभित्र भोगाधिकार कायम हुने गरी काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘मैले मन्त्रालय सम्हालेको एक महिनामै औद्योगिक क्षेत्र कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यसबारे कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ । त्यो प्रतिवेदन क्याबिनेटमा पेश गरी भोगाधिकार हस्तान्तरणको निर्णय गराउँछु ।’ मन्त्री भण्डारीले भोगाधिकार पाएपछि बाँकी प्रक्रिया अघि बढ्ने बताएका छन् । त्यसका लागि ५ अर्ब बढी बजेट माग गरिएको उनले जानकारी दिए । उनले कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने समेत बताएका छन् । उनले भने, ‘सरकार नीजि क्षेत्रको साथमा छ । नीतिगत सुधार गरी लगानी मैत्री वातावरण निर्माण गर्नका लागि मन्त्रालय धमाधम काम गरिरहेको छ ।’

६ फागुनमा मन्त्री भण्डारी आफ्नो गृह जिल्ला बैतडी पुग्नुभयो । जिल्लाका विभिन्न ठाउँमा उनलाई भव्य रूपले स्वागत गरियो ।

उहाँले दशरथचन्द नगरपालिका–२ देहिमाण्डौँमा आयोजित राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उनले निर्वाचनका बेला गरिएका बाचा पुरा गर्ने र उद्योग वाणिज्यको क्षेत्रमा बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँहरूले दिएको मतको उच्च कदर गर्दै बैतडी र समग्र सुदूरपश्चिमको विकासका लागि सधैँ अग्रसर छु, म जति दिन मन्त्री पदमा रहन्छु, यहाँको विकासका लागि बजेटको कमी हुन दिइने छैन ।’

मन्त्री भण्डारीले झुलाघाट स्थित नेपाल–भारत सीमा नदी महाकालीमा पक्की पुल निर्माण गर्ने प्राथमिकतामा राख्ने बताउनुभयो । पुल निर्माणका लागि उहाँले भारतीय राजदूत सँगको भेटका बेला कुराकानी गरिसकेको र भारतीय पक्ष सकारात्मक देखिएकाले प्रधानमन्त्रीको भारत भ्रमणका बेला थप प्रक्रियाको अगाडी बढ्ने विश्वास दिलाउनुभयो । मन्त्री भण्डारीले बैतडी स्थित गौरवका आयोजनाहरू प्राथमिकतामा राख्ने बताउँदै जिल्लामा रहेका खानीहरूको अध्ययन, उत्खनन र सञ्चालनका लागि बजेट विनियोजन गर्ने बताउनुभयो ।

२ दिन बैतडीमा बिताएका मन्त्री भण्डारी ८ गते कञ्चनपुर पुग्नुभयो । उहाँले दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमको सम्बोधन गर्दै उहाँले औद्योगिक क्षेत्रको विकासविना समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने बताउनुभयो । औद्योगिक क्षेत्रको विकास पश्चिमबाट सुरुवात गरिने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘औद्योगिक क्षेत्रको काम गर्नका लागि कार्यालय खोलिएको छ, कैलालीको हरैया विशेष आर्थिक क्षेत्र र लुम्बिनीको नौवस्ता औद्योगिक क्षेत्र बन्दैछ ।’

शिलान्यास भएको करिब दुई वर्षपछि औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय खुलेको हो । वि.सं. २०७७ फागुन १० गते नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास भएको दुई वर्षपछि एमाले प्रदेश अध्यक्ष समेत रहेका मन्त्री भण्डारीले औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन गरेसँगै यो कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

फागुन ९ गते मन्त्री भण्डारी लुम्बिनी प्रदेशको बाँके जिल्ला पुग्नुभयो । नेपालगन्ज स्थित नौवास्ता औद्योगिक क्षेत्रको अनुगमन, निरीक्षण गरेका मन्त्री भण्डारीले औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु गर्ने समेत बताउनुभयो ।

हाल सुकुम्वासीले वर्षौँदेखि प्रयोग गरिरहेको जग्गा उनीहरूलाई नै भोगचलन गर्न दिएर बाँकी जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने मन्त्री भण्डारीको भनाइ छ ।

नौवस्ता औद्योगिक क्षेत्र निर्माणका लागि मन्त्रालयसँग बजेट उपलब्ध रहेको भन्दै उनले राजनीतिक दल, जनप्रतिनिधि, प्रतिनिधि सभा तथा प्रदेशसभाका सांसद, स्थानीय सरकार र स्थानीय बासिन्दा सबैको साथ र सहयोगको आवश्यकतामा जोड दिनुभयो ।

नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरे पनि बस्तीलगायतका कारण पछि ३३८ बिघामा निर्माण कार्य अघि बढाउने भनिएको थियो । त्यसभित्र समेत केही घर परेपछि विवादका कारण लामो समयसम्म औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेको हो ।

यसैबीच नौवस्ता औद्योगिक क्षेत्रमा बस्ती व्यवस्थापनका लागि १०८ बिघा जग्गा आवश्यक पर्ने स्थानीय बासिन्दाको तर्फबाट माग गरिएको छ ।

३३८ बिघा जमिनमध्ये सशस्त्र प्रहरीलाई २० र क्षेत्रीय कारागारलाई १० बिघा यसअघि नै दिइसकिएका कारण १०८ बिघा जमिन स्थानीयलाई छुट्याउने हो भने औद्योगिक क्षेत्र निर्माण हुन नसक्ने भएकाले मन्त्री भण्डारीले औद्योगिक क्षेत्र निर्माण हुन सक्नेगरी बस्ती व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।

नेपालगन्जमा रहँदा उहाँले नेपाल आयल निगमको अनुगमन निरीक्षण गर्नुभएको छ । त्यहाँ स्थित डल्फिन ग्रुपको उद्योग कम्पनीका सञ्चालक सँग भेट तथा कम्पनीको स्थलगत अनुगमन निरीक्षण र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निरीक्षण गर्नुभएको छ । विभिन्न क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री भण्डारीले योजनाहरूसँग सरोकार राख्ने व्यक्तिहरूलाई सम्बन्धित काममा ढिलासुस्ती नगरेर अगाडी बढाउन निर्देशन दिनुका साथै निजी क्षेत्र सँगको सहकार्य बढाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *