उद्योगमन्त्री भण्डारी बैजनाथ औद्योगिक क्षेत्रको निरीक्षणमा

काठमाडौं ! उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बाँकेको बैजनाथमा औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु गर्ने  बताएका छन।  आज अनुगमन निरीक्षण गर्दै  उनले उक्त कुरा बताएका हुन।

हाल सुकुम्वासीले वर्षौँदेखि प्रयोग गरिरहेको जग्गा उनीहरूलाई नै भोगचलन गर्न दिएर बाँकी जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने मन्त्री भण्डारीको भनाइ रहेको छ ।

नौवस्ता औद्योगिक क्षेत्र निर्माणका लागि मन्त्रालयसँग बजेट उपलब्ध रहेको भन्दै उनले राजनीतिक दल, जनप्रतिनिधि, प्रतिनिधि सभा तथा प्रदेशसभाका सांसद, स्थानीय सरकार र स्थानीय बासिन्दा सबैको साथ र सहयोगको आवश्यकतामा जोड दिएका छन।

नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरे पनि बस्तीलगायतका कारण पछि ३३८ बिघामा निर्माण कार्य अघि बढाउने भनिएको थियो । त्यसभित्र समेत केही घर परेपछि विवादका कारण लामो समयसम्म औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेको हो ।

यसैबीच नौवस्ता औद्योगिक क्षेत्रमा बस्ती व्यवस्थापनका लागि १०८ बिघा जग्गा आवश्यक पर्ने स्थानीय बासिन्दाको तर्फबाट माग गरिएको छ ।

३३८ बिघा जमिनमध्ये सशस्त्र प्रहरीलाई २० र क्षेत्रीय कारागारलाई १० बिघा यसअघि नै दिइसकिएका कारण १०८ बिघा जमिन स्थानीयलाई छुट्याउने हो भने औद्योगिक क्षेत्र निर्माण हुन नसक्ने भएकाले मन्त्री भण्डारीले औद्योगिक क्षेत्र निर्माण हुन सक्नेगरी बस्ती व्यवस्थापन जरुरी रहेको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *