झुलाघाटमा मोटरेबल पुल निर्माण प्राथमिकतामा छ : मन्त्री भण्डारी

काठमाडौं ! उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले झुलाघाटमा मोटरेबल पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । मन्त्री भण्डारीको स्वागतमा बैतडी उद्योग वाणिज्य संघ र बैतडी निर्माण व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा झुलाघाटमा मोटरेबल पुल निर्माणको कुरा प्राथमिकताका साथ उठाउने बताए । प्रधामन्त्रीको भ्रमण टोलीमा आफूपनि सहभागी हुने बताउँदै मन्त्री भण्डारीले झुलाघाटमा मोटरेबल पुल निर्माणको बिषय प्राथमिकतासाथ उठाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका भण्डारीले बैतडीमा महसुस हुने गरेर बजेट विनियोजन हुने बताए । उनले भने ‘यो जिल्लामा महसुस हुने गरेर अबको बजेट आउँछ । यो सरकारमा रहीरहे जिल्लाले महसुस हुने गरेर बजेट विनियोजन हुने कुरामा ढुक्क रहन आग्रह गर्दछु ।’

महाकाली कोरीडोर निर्माणको कामलाई थप गतिशील बनाउँदै यो आयोजनामा पनि बजेट थपिने मन्त्री भण्डारीले बताए । महाकाली कोरीडोर निर्माणको कुरा पनि प्राथमिकतामा रहेको उनले बताए । आफूपनि यसै जिल्लाको बासिन्दा भएकाले यो क्षेत्रका विकास निर्माणमा आफ्नो चासो र सरोकार रहेको उनले बताए ।

उद्योग दर्ताको प्रक्रियालाई सहज बनाउने बताउँदै मन्त्री भण्डारीले अनलाइनबाटै उद्योग दर्ताको व्यवस्था मिलाइने बताए । सेवाग्राहीलाई चाँडो सेवा प्राप्त हुने कुरामा विश्वस्त रहन उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *