उद्योग मन्त्री भण्डारीले मन्त्रालय सम्हालेको एक महिना पूरा : यस्ता छन् महत्त्वपूर्ण उपलब्धिहरु

काठमाडौँ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफुले मन्त्रालय सम्हालेको आज बुधवार एक महिना पुरा भएको छ । मन्त्री भण्डारीले एक महिना भित्र नै मन्त्रालय एवं मन्त्रालय मातहतका विभागहरुमा सुधार गर्नुपर्ने कामहरु,सरकारका आगामी नीतिहरुलाई प्रभावकारी बनाउन नमुना भुमिका खेल्नु भएको छ।

गत माघ ३ गते पद बहाली गरेसँगै मन्त्रालयमा आयोजित स्वागत कार्यक्रम सम्बोधनका क्रममा गरेका  मन्त्री भण्डारीले गर्नु भएका प्रतिवद्धताहरु एक महिना भित्रै क्रमशः देखिन थालेका छन् ।

बढ्दो व्यापार घाटा न्यूनीकरण, पेट्रोलियम पदार्थको सहज आपूर्ति, खाद्यान्न आपूर्ति सहजताको लागि मन्त्रालयका सबै अङ्ग तथा साधन स्रोतको परिचालन,“कोही भोकै नपरोस् भोकले कोही नमरोस्” भन्ने नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने उहाँको प्रतिबद्धता थियो ।

रुग्ण उद्योगहरूको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने, रुग्ण उद्योगहरूको सञ्चालनमा विशेष जोड दिने, समस्याहरूको गीत गाउनुभन्दा समाधानका ढोका खोल्न जरुरी रहेको, धेरै प्रश्न उठ्ने आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, उपलब्ध स्रोत र सम्भावनाहरूलाई उजागर गर्दै सरकारको २१ बुँदे साझा कार्यक्रमलाई सफल पार्न सबै पक्ष प्रतिबद्ध रहनुपर्ने मन्त्री भण्डारीले बताउनु भएको थियो।

यसै गरी विगतमा उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरूले सुरुवात गरेका राम्रा कामहरूको निरन्तरता, निर्णय तथा कार्य प्रक्रियामा पूर्ण पारदर्शिता र आवश्यकता अनुसार विज्ञहरूको यथेष्ट सल्लाह सुझाव सहित मन्त्रालयको काम अगाडी बढाउने बताउनु भएको थियो।

मन्त्रालयको काममा खटिएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले समेत आत्म गौरव प्राप्त हुने गरी कार्य विवरण अनुसार दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनु भएको थियो।

मन्त्रालयबाट पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएकोमा मन्त्रिपरिषदबाट समेत दैलेखमा ४५ रोपनी जग्गा प्राप्तिको निर्णय पारित भएको छ । पेट्रोलियम विधेयकको मस्यौदामा अर्थ मन्त्रालय र कानुन मन्त्रालयको सहमतिको लागि अगाडी बढाइएको छ ।

१३ माघमा कञ्चनपूरस्थित दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया अगाडी बढाइएकोमा मन्त्री भण्डारीले भारतीय राजदूत नवीन श्री वास्तवसँग दुई पक्षीय सहमतिका लागि छलफल गर्नुभएको थियो भने प्रधानमन्त्री प्रचण्ड र मन्त्री भण्डारी सम्बन्धित क्षेत्रमा पुगेर तीन वर्ष भित्र बन्दरगाहको काम सम्पन्न गर्ने जनाउनु भएको थियो ।

धौवादी फलाम उद्योग लगायत अन्य तीन वटा सिमेन्ट उद्योग सम्म पुग्ने पहुँच मार्गको लागि ९ करोड ६७ लाख रकमान्तर गरी निकासासमेत गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तरगत २० ओटा औद्यौगीक ग्रामका लागि थप रकम निकासा भएको र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल औषधी लिमिटेडमा महाप्रबन्धक नियुक्तिको प्रक्रियामा समेत मन्त्रालयले काम अघि बढाएको छ।

भारतबाट पैठारी हुने गहुँ र चिनीको निर्यात सम्बन्धी कार्य अघि बढाइएकोमा नेपालका २५ कम्पनीहरूलाई १० हजार ६ सय ३६ मेट्रिक टन चिनी आयात गर्न पहल भएको छ । जस अन्तरगत आन्तरिक वितरणको व्यवस्था गर्ने गरी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई सहमति दिइएको छ ।

धनगढीको गेटामा रहेको स्वास्थ्य विज्ञान विश्व विद्यालयको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मन्त्रीमण्डलबाटै नामकरण भई कार्यान्वयन प्रक्रियामा जाने भएको छ । उक्त विश्वविद्यालय सञ्चालनका लागि मन्त्री भण्डारी र नेकपा एमाले पार्टी सचिव लेखराज भट्टले विगत देखी पहल गरिरहनु भएको थियो।

मन्त्री भण्डारीले विभिन्न मित्र राष्ट्रका कुटनैतिक व्यक्तिहरुसँग पनि शिष्टाचार भेटवार्ता गर्नु भएको छ। उहाँले हालसम्म भारतीय राजदूत नवीन श्री वास्तव,चिनियाँ राजदूत चेन सोङ र कोरियन राजदूत पार्क चोङ सुक गरि तीन देशका राजदूतहरु सँग भेटवार्ता गरिसक्नु भएको छ। भेटका उहाँले नेपालको हितका लागि केही महत्त्वपूर्ण विषयहरूमा छलफल एवं संबंधित देशका राजदूतलाई ध्यानाकर्षण गराउनु भएको छ।

मन्त्री भण्डारीले देशका सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने भनि निर्णय नै गराउनु भएको छ। अब सोही निर्णय बमोजिम सरकारी निकायहरुमा सम्भव भएसम्मका स्वदेशी उत्पादनहरुको प्रयोग गर्नुपर्ने हुन्छ,जसले गर्दा स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्ने भएको छ। स्पष्ट वक्ता,नम्र एवं निडर स्वभावका मन्त्री भण्डारीको काम गर्ने तौरतरिका देखेर मन्त्रालय मातहतका प्रशासनिक कर्मचारीहरु,विभागीय प्रमुखहरु पनि उर्जावान भएको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *