समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन अत्यावश्यक : उद्योगमन्त्री भण्डारी

काठमाण्डौं  ! उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन अत्यावश्यक रहेको बताएका छन् ।

नेपाल मुद्रण उद्योग महासङ्घको नवौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रसँग हातेमालो नगरी आर्थिक समृद्धि हुन नसक्ने बताए । उनले आर्थिक क्षेत्रमा देखिएका राष्ट्रिय समस्या समाधानका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उहाँले उद्योग सम्बद्ध कानुनको पुनरावलोकन गरिने उल्लेख गर्दै उद्योग मन्त्रालयबाट औद्योगिक ग्राम सञ्चालनमा ल्याउने कार्य लगातार अघि बढिरहेको जानकारी गराए । साथै उनले युवा उद्यमीलाई सहजीकरण गर्न सरकारले छरिएर रहेका कोषलाई एकीकृत गरेर कार्यान्वयनमा ल्याउने बताए ।

मन्त्री भण्डारीले १५औँ योजना र वार्षिक बजेट बमोजिमका लक्ष्यअनुरूप उद्योग क्षेत्रमा कूल गार्हस्थ्य उत्पादनमा योगदान बढाउनका लागि पनि हरेक क्षेत्रमा औद्योगिक विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

मुद्रण व्यवसायीका संस्थागत रूपमा आएका कुरामा सरकार सकारात्मक भएर सहायता गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले राज्यका सीमा र परिधिभित्र रहेर मुद्रण व्यवसायीका माग प्राथमिकताका साथ पूरा गर्न सरकार तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *