माधव नेपालका कार्यकर्ताप्रति लक्षित गर्दै शिक्षामन्त्रीले भने :आफू नियुक्त हुनु अघि नै भएको निर्णयमा केहिले भ्रम छरे

काठमाडौं – आफू नियुक्त हुनु अघि नै भएको निर्णयमा आफ्नो नाम मुछेको भन्दै शिक्षा मन्त्री शिशिर खनालले गुनासो गरेका छन् । विद्यालयको पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको भन्दै गएको शुक्रबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भ्रममा परि मन्त्री खनालको पुत्ला जलाएको थियो ।

आईतबार भएको शिक्षा पत्रकार सञ्जाल ईजोनको आठौं साधारण सभामा प्रमुख अतिथीका रुपमा मन्तव्य दिदैं मन्त्री खनालले उक्त निर्णय आफू आउनु अघि नै भएको बताएका हुन् । कुरै नबुझि विरोध गर्दा आफ्ना मतदाता र आम नागरिकमा गलत शन्देश प्रवाह भएको भन्दै उनले सञ्चारकर्मीलाई कुरा बुझेर मात्रै समाचार लेख्न स्मरण गराए ।

शिक्षा मन्त्रालय श्रोतका अनुसार उक्त निर्णय पुष २९ गते भएको थियो । शिक्षा मन्त्रालयले २०६४ साल देखि नै निजीलाई पाठ्यपुस्तक छाप्ने जिम्मा दिदैं आएको छ । हरेक बर्ष निर्णय गर्नु पर्ने व्यवस्था अनुसार यस बर्ष पनि सोही निर्णय निरन्तर रहेको मन्त्रालय श्रोतले बतायो । यस बर्ष उक्त निर्णय गर्दा शिक्षा मन्त्रालयको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मातहत थियो । खनाल माघ ३ गते शिक्षा मन्त्री नियुक्त भएका हुन् ।

‘त्यो मेरो निर्णय थिएन तर यो घटनाले विश्वविद्यालय तहका विद्यार्थीको चेतनास्तर कुन स्तरमा छ भन्ने कुरा प्रष्ट बनाएको छ’ निर्णयमा हस्ताक्षर गर्ने व्यक्तिको नाम नलिई मन्त्री खनालले भने ‘उक्त घटना देखे पछि मलाई हाँसो उठ्यो, तर २०६४ साल देखि निरन्तर हुँदै आएको कुरालाई विस्तृतमा नबुझि समाचार संप्रेषण हुँदा मेरा मतदाता र हामीप्रति भरोसा गरेका आम नागरिकमा गलत शन्देश सप्रेषण भयो, यस्ता विषयमा तपाई सञ्चारकर्मीहरु सचेत हुनुहोला मेरो आग्रह छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *