सरकारका मन्त्रीबाटै आचारसंहिता उल्लंघन हुँदै : निर्वाचन आयोगले एक्सन लिनसक्ने

काठमाडौं । सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन् । तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र गाडीको दुरुपयोग गर्दै आप्नो चुनाव प्रचार र घरदैलो गरिरहेका छन् ।

केही मन्त्रीले त राहतका नाममा चामलसमेत वितरण गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।

मन्त्रीहरूले मन्त्रालयबाट जिल्लामा जाँदा त्यसको जानकारी अनिवार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गराउनुपर्छ ।

जिल्ला भ्रमण गर्दा प्रधानमन्त्री कार्यालयबाट भ्रमण स्वीकृतसमेत गराउनुपर्छ तर अधिकांश मन्त्री जिल्ला भ्रमणमा रहे पनि कसैले पनि भ्रमण स्वीकृत नगराएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार हाल चुनाव क्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलगायत जिल्लामा रहेका छन् ।

उनीहरू धेरै दिनदेखि जिल्लामा छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता २०७९ उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्दसमेत हुन सक्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *