निजगढ विमानस्थलको काम सुरु गराएरै छोड्छु : पर्यटनमन्त्री आले

काठमाडौं ! संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण काम कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।

आज बुधवार बाराको निजगढमा रिपोर्टर्स कल्बले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउने छौँ ।’

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विभिन्न दलका शीर्षस्थ नेता, मन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत मन्त्री आलेले जानकारी दिनुभयो । उहाँले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको चुनावभन्दा अगाडि नै सुरु हुने समेत दाबी गर्नुभयो ।

निगजढ विमानस्थलको काम कहिले सुरु हुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले भन्नुभयो, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी चाँडै काम सुरु गर्नेछौँ ।’

यसैगरी मन्त्री आलेले सरकारले दुई देशका सरकारका बीच (जीटुजी), लगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा विमानस्थलको काम सुरु गर्ने बताउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलहरूको पनि सहमति भएकाले जसरी भए पनि विमानस्थल निर्माणको काम सुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *