काठमाडौं । नयाँ सरकार गठनको तयारीसँगै शिक्षा मन्त्रालय कसको हातमा जाने भन्ने विषयमा तीव्र चर्चा सुरु भएको छ। विशेषगरी नेतृत्व तहमा भइरहेका आन्तरिक छलफलले शिक्षामन्त्रीको दौड रोचक बनेको हो ।
स्रोतका अनुसार केही प्रमुख नामहरू अन्तिम सूचीमा परेका छन्। शिक्षा क्षेत्रमा अनुभव र नजिकको राजनीतिक विश्वासका आधारमा छनोट हुने सम्भावना देखिएको छ।
यदि बाहिरबाट अनुभवी व्यक्ति ल्याइएमा एक विकल्प अघि सारिएको छ भने, पार्टीभित्रकै व्यक्तिलाई जिम्मेवारी दिने अवस्थामा अन्य दुई नाम बलियो देखिएका छन्। रास्वपाले स्वतन्त्र सांसद महावीर पुनलाई सरकारमा सहभागी गराउने हो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय दिने तयारी गरेको हो । यदि उनी सरकारमा सहभागी नहुने हो भने रास्वपाकै आनन्द चन्द वा सस्मित पोखरेलको सम्भावना रहेको बताइएको छ ।
भावी प्रधानमन्त्री बालेन्द्र साहले विज्ञहरूसँग परामर्श गरेर अन्तिम निर्णय गर्ने तयारी गरेको बुझिएको छ । बालेनको रोजाई शिक्षा क्षेत्रको अनुभव संगालेका आनन्द बहादुर चन्दमा हुने रास्वपा आन्तरिक स्रोतले जनाएको छ। चन्द प्रदेश राजधानीको सांसद भएको र भौगोलिक समीकरण मिलाउँदापनि मन्त्रीमा उनलाई समेट्नैपर्ने बाध्यता रास्वपालाई रहेको बुझिएको छ।
