नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घ(ईयू)को कालोसूचीबाट हटाउन आग्रह गर्नुभएको छ । मन्त्री आलेद्रारा नेपालका लागि ईयूका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले कालोसूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि उक्त सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गर्नुभएको हो ।

मन्त्री आलेले भन्नुभयो, ‘नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।’ उहाँले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि ईयूसँग नेपालले सहकार्य गर्न चाहेको धारणा राख्नुभयो ।

सो अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि ईयूको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने बताउनु भयो। ईयूले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उहाँले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि लागि पनि नेपाललाई आग्रह गर्नुभयो । राजदूत डिप्रेले भन्नुभयो, ‘हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, मेरातर्फबाट म सकारात्मक प्रयास गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *