विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको विकासमा प्रयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं ! परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई मातृभूमिको उन्नयनका लागि प्रयोग गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको काठमाडौंमा शनिबार उद्घाटन गर्दै उनले प्रवासी नेपालीलाई देशको आर्थिक तथा सामाजिक विकासमा सक्रिय साझेदार बन्न आह्वान गरे ।

उनले प्रविधिको तीव्र विकाससँगै विश्वव्यापी प्रतिस्पर्धा बढिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन आइरहेको बताए । यस्तो अवस्थामा नेपालको भूराजनीतिक सम्बन्ध सुदृढ बनाउन र ‘सफ्ट पावर’ विस्तार गर्न गैरआवासीय नेपाली सङ्घले सेतुको भूमिका खेल्नुपर्ने उनले बताए ।

मन्त्री शर्माले गैरआवासीय नेपालीलाई ‘नेपालका सांस्कृतिक दूत’ का रूपमा उल्लेख गर्दै पारस्परिक विश्वास बढाउँदै देशको विकासमा योगदान गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सङ्घको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुनी व्यवस्था परिमार्जन गर्न सरकार तयार रहेको पनि जानकारी दिए ।

फरक प्रसङ्गमा उनले विश्वका विभिन्न क्षेत्रमा भइरहेका द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताए । आपतकालीन अवस्थामा परराष्ट्र मन्त्रालय र सम्बन्धित देशस्थित नेपाली नियोगमार्फत उद्धार उडानसमेत सञ्चालन गरिएको उनले उल्लेख गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले नेपालमा वैदेशिक लगानी भित्र्याउन संस्था सक्रिय रहेको बताए । उनले गैरआवासीय नेपालीको अधिकार संरक्षणका लागि सङ्घ प्रतिबद्ध रहेको दोहोर्‍याए ।