विराटनगर ! उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी विराटनगर पुग्नु भएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको प्रदेशस्तरिय प्रथम लगानी सम्मेलनमा सहभागी हुन उहाँ विराटनगर पुग्नु भएको हो।
कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन आजबाट विराटनगरमा शुभारम्भ भएको छ। उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्नुभएको थियो। उद्योगमन्त्री भण्डारीले उक्त सम्मेलनलाई शुक्रबार विहान विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनबाट १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी भित्रिने अपेक्षा गरिएको छ। जसका लागि ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’ गरिएको छ। कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रका परियोजना ‘सोकेसिङ’ गरिने भएपछि निजी क्षेत्र उत्साहित बनेको छ।
सम्मेलनका अवसरमा प्रदेशमा लगानीमैत्री वातावरण र ३ तहका सरकारहरू बीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू तथा जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने जनाइएको छ। लगानीको सम्भावना प्रचुर रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि सम्मेलन ऐतिहासिक एवं उपलब्धिमूलक हुने जनाइएको छ।