शैक्षिक क्षेत्र सुधार गर्न नयाँ शिक्षा ऐन आवश्यक : मन्त्री भण्डारी

बैतडी ! उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको उहाँले बताउनुभएको हो ।
उहाँले भन्नुभयो,“नयाँ शिक्षा ऐन चाँडै आउनेछ , सबै शिक्षकहरुका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन उक्त ल्याउन लागेको हो।”
शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने दाबी गर्दै उहाँले यसको लागि सरकार लागिपरेको जानकारी दिनुभयो । नयाँ आउने शिक्षा ऐनले सबै शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उहाँको दाबी छ । शिक्षकहरूका तर्फबाट व्यक्त भएका मागहरूलाई ऐनले सम्बोधन गर्ने उहाँले बताउनुभयो ।
अहिले एमाले र काँग्रेस मिलेर राष्ट्रिय आवश्यकताका आधारमा सरकार निर्माण गरिएको मन्त्री भण्डारीले बताउनुभयो । सरकारले अध्यादेशमार्फत ल्याएका कानुनहरू अहिलेको आवश्यकता भएकाले सांसदबाट पारित गर्नुपर्ने उहाँको भनाई छ ।
यस्तै देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा मन्त्री भण्डारीको जोड छ । अर्थतन्त्रमा सुधार आए मात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्नेमा उनले जोड दिनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको अधिवेशनमा मन्त्री भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय अध्यक्ष विष्णु भण्डारी विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
अधिवेशनले परमानन्द भट्टको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको २५ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको नेपाल शिक्षक सङ्गठन बैतडीका निवर्तमान अध्यक्ष प्रेमराज भट्टले बताउनुभयो ।