रूपन्देही- अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारसँगै लगानीको वातावरण बनेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको उद्घाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरूमा उत्साहजनक सुधार आएसँगै लगानीको वातावरण बनेको बताउनुभएको हो ।
उहाँले उद्योगी व्यवसायीहरूले लगानीका लागि बैङ्कसँग कर्जा माग्दा नपाउने अवस्था हटेर पर्याप्त लगानी गर्नसक्ने वातावरण बन्दै गइरहेकाले उद्योगी व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न अनुरोध गर्नुभयो ।
अर्थमन्त्री पौडेलले उद्योग व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पूँजी, प्रविधिको उपलब्धतासँगै वातावरण बनिसकेकाले ढुक्क भएर व्यवसायीहरुले आफ्नो व्यवसाय अगाडि बढाउनसक्ने बताउनुभएको हो ।
अहिले बैङ्कको ब्याजदर एकल अङ्कमा आइसकेको र लगानीयोग्य तरलता बैङ्कमा रहेको स्मरण गर्दै मन्त्री पौडेलले उद्यम व्यवसायका लागि थप सहज वातावरण बनाइने जानकारी दिनुभयो ।
उहाँले लघुउद्यम, किसानसँग वाणिज्य बैँक जस्ता कार्यक्रमसँगै वित्तीय पहुँचको लागि शाखा विस्तारलाई अगाडि बढाएको बताउनुभयो । सबैको साथ सहयोग र सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको भन्दै उहाँले समग्र अर्थतन्त्र सुधारमा सहयोग पुग्ने गरी आफूहरूले कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले वाणिज्य बैंकहरुको सुचिमा दोस्रो हुने छुट राष्ट्रिय वाणिज्य बैंकलाई नभएकाले सेवाग्राहीको मन जितेर काम गर्न निर्देशन दिनुभयो ।
यसैगरी कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैँकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताउनुभयो ।
उहाँले बैँकले सेवा र सुविधालाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताउनुभयो ।