काठमाडौं ! उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव गर्नेलाई कडा कारवाही गर्ने बताएका छन् ।
मन्त्री भण्डारीले आफ्नो मातहतका निकायहरुलाई बजारमा कालोबजारी हुन नदिन निर्देशन पनि दिएका छन् । उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै डाकेर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रुपमा अनुगमन गर्न निर्देशन दिएका हुन् ।
त्यस्तै, मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसललाई सर्वसुलभ बनाउन निर्देशन दिएका छन् ।
मन्त्री भण्डारीले नेपाल आयल निगमका चण्डीप्रसाद भट्टलाई एलपी ग्यासको आवश्यक मौज्दात बढाउन निर्देशन दिए। यसैबीच, होटल सङ्घ नेपालले निराधार रुपमा आफूखुसी कुनै सम्झौता नै नगरेको विषयमा प्रचारबाजी गरेकामा मन्त्री भण्डारीको सचिवालयले आपत्ति प्रकट गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राज्यका प्रचलित कानूनबमोजिम नियमित बजार अनुगमन गर्ने कामलाई निरन्तरता दिंदै गुणस्तरीय वस्तुको उचित मूल्यमा सुलभ आपूर्तिको सुनिश्चितताका लागि हरदम प्रयत्नशील रहिरहेको बताएको छ । रासस