डाटा हराएपछि लोक सेवा आयोगले फेरि दरखास्त माग्यो

काठमाडौं ! उम्मेदवारहरुको तथ्यांक नै गायब भएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो ।

सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने छ । पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने लोक सेवा आयोगले जनाएको छ ।

आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको हो ।

डाटा रिकभरी नहुने भएपछि २०८० साल जेठ महिनादेखि सन्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित भएका छन् ।

पुनः दरखास्त दिँदा पहिले जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिन पनि आयोगले भनेको छ । पुनः दरखास्त प्राप्त भएपछि पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको छ ।

दरखास्त स्वीकृत भएको जानकारी सम्बन्धित उम्मेदवारहरुले एसएमएसबाट प्राप्त गर्नेछन् । दरखास्त स्वीकृत भएपछि नयाँ रोल नम्बरसहितको प्रवेशपत्र जारीछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *