काठमाण्डौ – काठमाण्डौको प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाण्डौको सिडिओ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई पठाएको हो ।
यसअघि सहसचिव रिजाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख विनोद प्रकाश सिंह काठमाण्डौको प्रमुख जिल्ला अधिकारीका लागि कसरतमा लागेका थिए ।
गृहमन्त्री बालकृष्ण खाँडले उनलाई काठमाण्डौ प्रशासनको नेतृत्वमा पुर्याएका हुन् । रिजाल ४ महिनादेखि गृह मन्त्रालयमा कार्यरत छन् । उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरको प्रमुख जिल्ला अधिकारी थिए ।
रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन् । उनले सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।