कांग्रेसले उद्योगधन्दा र निजी क्षेत्र दूबैलाई सिध्यायो : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले उद्योगधन्दा र निजी क्षेत्रलाई समाप्त पारेको बताउनु भएको छ । अध्यक्ष ओलीले कांग्रेसले निजीकरणका नाममा पहिला सरकारी उद्योग निजी क्षेत्रलाई दिएर उद्योग सकेको र अहिले त्यहीँ निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामा उसैलाई सिध्याउन लागेको उल्लेख गर्नुभयो।

उहाँले नेपालका उद्योगहरुलाई कमिशनखोरी र भ्रष्टहरुको हातमा जिम्मा लगाएर कांग्रेसले उद्योग चलाउन नभई कमिशनका लागि निजीकरण गरिदिएको आरोप समेत लगाउनु भयो। उहाँले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि नभई कांग्रेसले कमिशन लिएर सम्पत्ति नै जिम्मा लगाएको टिप्पणीसमेत गर्नुभयो।

‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ, दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो, हामीकहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर कांग्रेसले उहिल्यै सिध्यायो’ अध्यक्ष ओलीले भन्नुभयो, ‘निजी क्षेत्रलाई पनि सिध्याइदियो ।’

उहाँले चलिरहेका उद्योगहरुलाई कांग्रेसले निजी क्षेत्रले समेत चलाउन नसक्ने बनाएको बताउनु भयो।

‘उनीहरुले पनि चलाउनका लागि किनेनन्, बाँसबारी छाला जुत्ता चलाउनका लागि किनेनन्, हेटौँडा कागज कारखाना चलाउनका लागि किनेनन्’ उहाँले थप्नुभयो, ‘त्यसको अर्कै प्रयोजनका लागि, जमिनको प्रयोजन आदि इत्यादिका लागि किने र त्यहाँ कमिशनको फोहोरी काम भयो ।’