काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्माले भारतलाई ७५ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल एक्स ट्वीटर मार्फत शुभकामना दिनुभएको हो । ‘७५ औँ गणतन्त्र दिवसको सबै भारतीयहरूलाई शुभकामना’ ओलीले लेख्नु भएको छ ।
भारतले आज आफ्नो ७५ औँ गणतन्त्र दिवस मनाउँदै छ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको भारतीय गणतन्त्र दिवस मनाइँदै छ ।
सन् १९५० को जनवरी २६ मा भारतलाई गणतन्त्र मुलुक घोषणा गरिएको थियो । ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको भारतले १९५० को जनवरी २६ मा संविधान जारी गरी सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको थियो ।
भारतको संविधान सभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै गणतन्त्रको घोषणा गरिएको थियो ।