राजनीति नसुल्झिँदासम्म अरू नीति सुल्झिँदैनः अध्यक्ष ओली

सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीति ठीक दिशामा अघि नबढेको बताउनुभएको छ । सुर्खेतमा शुक्रबार मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले सबै नीतिलाई राजनीतिले नेतृत्व गर्ने हुँदा अरु विभिन्न क्षेत्रका नीति सुधार्न पहिले राजनीति सुल्झिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– राजनीति सुल्झिएन भने अरू शाखा नीति सुल्झिँदैनन्, पहिले राजनीति सुल्झिनुपर्छ ।


अध्यक्ष ओलीले राजनीतिक दलले आफ्नो स्वार्थको लागि शैक्षिक संस्था वा अन्य सार्वजनिक निकायको दुरुपयोग गर्न नहुने बताउनुभयो । गुरुलाई देवता तुल्य मान्नुपर्नेमा उनीहरू नै असुरक्षित भएको उहाँको भनाइ छ । पढाइमा विनम्रता, मानवता, राष्ट्रियता, देशभक्ति, विकासशीलता सिकाउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
उहाँले आफ्नो जीवन अति कठिनाइका साथ गुज्रिएको र आफूले जिन्दगीमा सुखभन्दा कठिनाइ धेरै खेपेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– मेरो जिन्दगी एक दिनको घाम, सय दिनको पानी भने जस्तै छ, मेरो जिन्दगी त्यति कष्टपूर्ण ढङ्गले अघि बढ्यो, म दुःख, कठिनाइसँग पछि नहट्ने मान्छे हुँ, अहिले पनि म अलि बढी नै मेहनत गर्छु ।
उहाँले आवश्यक पर्दा आफू चौबिसै घण्टा पनि खट्न सक्ने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– अप्ठेरो आयो भने म धेरै अप्ठेरो दिनको परिकल्पना गर्छु, धेरै अप्ठेरो दिनको परिकल्पना गरेपछि त्यहाँसम्म पुग्नै पर्दैन, बराबरैबाट त्यो समाधान हुन्छ ।
आफू कहिल्यै पनि चिन्तित भएर नबस्ने र चिन्ता गरेर अर्थ नहुने उहाँको भनाइ छ । कुनै समस्या आयो भने चिन्ता होइन सामना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष ओलीले आफू सरकारमा रहँदा धेरै अप्ठेरो खेपेर नागरिकमा आशा जगाउन काम गरेको बताउनुभयो ।