पार्टीलाई सबल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले  सुरक्षित र समृद्ध नेपाल निर्माणको उद्देश्य र गन्तव्यका साथ अगाडि बढिरहेकाले पार्टीलाई सबल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) प्रदेश पदाधिकारीहरूको राष्ट्रिय भेलालाई बिहीवार पार्टी कार्यालय, च्यासल, ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले शान्ति सुव्यवस्था, सुशासन र विकाससहितको सुरक्षित र समृद्ध नेपाल पार्टीको चाहना भएको स्पष्ट गर्नुभयो ।
देशको भूमिको रक्षा, राष्ट्रियता, स्वाधीनता र राजनीतिक उपलब्धिहरूको रक्षा अहिले राज्यको मुख्य कार्यभार रहे पनि गठबन्धनले त्यसलाई कमजोर बनाउँदै र धरापमा पार्दै लगिरहेको अध्यक्ष ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा (एमाले) सरकारमा जानका लागि हिरिक्क नगरेको र नगर्ने बताउँदै देशको रक्षा, राष्ट्रियताको रक्षा, सुरक्षित र समृद्ध नेपाल निर्माणको योजना कार्यान्वयनका लागि सरकारमा पुग्नुपर्ने हुँदा मिसन–२०८४ भनिरहेको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– अहिलेको गठबन्धनले विदेशीसँग मिलेर सरकारमा पुग्ने, उनीहरूकै आशिर्वाद र सहयोगमा सत्ता टिकाइरहने धार पक्रेको हुँदा देशका उपरोक्त मुख्य अभिभारा पूरा गर्न सक्दैन ।

‘नेपालमा अहिले बर्ग सङ्घर्ष नयाँ ढङ्गले निकै तिब्रताका साथ चलिरहेको छ, हामीहरू क्रान्तिकारी सङ्क्रमणको बाटोमा छौँ’ भन्नुहुँदै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरू बल प्राप्तिका लागि गठजोड गरिरहेको भनाइ राख्नुभयो ।