अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट कांग्रेसको तलाउमा तरङ्ग ल्याउने इच्छा छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रिय एकता जनतासँगको एकता हुनु पर्ने बताउनुभएको छ ।
सोमबार नेपाली कांग्रेसले ४८ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक स्थिति र अहिलेको शासन सञ्चालन प्रक्रिया प्रति सन्तुष्ट कांग्रेसलाई भड्काउने आफ्नो कुनै उद्देश्य नभएको भन्दै ओलीले व्यङ्ग्य गर्नुभयो । ‘अहिलेको स्थिति, अहिलेको परिस्थिति, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुङ्गो फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन, त्यस कारण म त्यतापट्टि बिलकुलै जान चाहन्न, कुनै अमन चयनमा खलल पनि पार्न चाहन्न’, ओलीले भन्नुभयो ।
उहाँले गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई हेर्दाहेर्दै समय नघर्कियोस् भन्दै चेतावनी दिनुभयो । दिनदहाडै मन्त्री भिडमा गएर मानिसलाई उत्तेजित बनाएर गोली चलाएर र बन्दुकको कुँजाले हानेर ठाउँको ठाउँमा मानिस मार्ने काम गरेको उहाँको भनाइ छ ।
सरकाले काम गरेन भन्नुको सट्टा सरकारले काम गरेन एमाले के हेरिरहेको छ भनेर एमाले माथि नै हमला भइरहेको भन्दै उहाँले आलोचना गर्नुभयो । सरकारको कारण देशमा घटना भइरहेको अवस्थामा पनि कतिपय मानिसहरू एमाले के गर्दै छ भनेर एमाले माथि नै खनिएका ओलीले बताउनुभयो ।
ओलीले राजतन्त्रको बहस अब नेपालमा आवश्यक नरहेको बताउनुभयो । राजतन्त्र समाप्त भइसकेकोले अब त्यो फर्किने वा फर्काउने कुनै सम्भावना नहरेको उहाँले प्रष्ट पार्नुभयो । राजतन्त्र हटेको नभई हटाइएको कारण अब फिर्ता नल्याइने उहाँले बताउनुभयो । ‘फाल्तु गफ हो यो राजतन्त्रको, राजतन्त्र असान्दर्भिक छ’, ओलीले भन्नुभयो ।
ओलीले लोकतन्त्र जोगाउन राजनीतिक दलहरूको बिचमा एकता र अन्य कुरामा स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र, शान्ति, सुशासन, विकास लगायतका प्रश्नमा राजनीतिक एकता आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कम गरे पनि नगरे पनि उस्तै देख्ने दृष्टिकोण बदल्नु पर्नेमा ओलीले जोड दिनुभयो । काम गर्ने र नगर्नेलाई एउटै डालामा राखेर हेर्न नहुने उहाँले स्पष्ट पार्नुभयो ।
नेपालीका पुर्खाले तोपसँग खुकुरी जुधाएर देश जोगाएका स्मरण गराउँदै ओलीले अहिले आँखा जुधाए समेत कुरा नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो । भारत नेपालको असल मित्र भएकोले आफूलाई अप्ठेरो परेको कुरा प्रष्ट रूपमा राख्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘हाम्रो मिचिएको जमिन फिर्ता ल्याउनु परेन ?’, उहाँले प्रश्न गर्नुभयो ।
ओलीले आफ्नो अनुकूलको कुरा होइन हरेक अवस्थामा एउटै कुरा गर्न आग्रह गर्नुभयो । यस्ता कुरामा मेलमिलाप गरेर अघि बढ्नु पर्नेमा ओलीले जोड दिनुभयो । उहाँले मेलमिलाप दिवसले यथार्थमा मेलमिलाप गरेर अघि बढ्न आग्रह गर्नुभयो ।