घृणा र विद्वेष फैलाउने कुरा जायज हुन सक्दैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन नसक्ने बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत आइतबार साँझ(२०८० मङ्सिर २४ गते) काभ्रेको धुलिखेल पुग्नुभएका अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार एलाइन्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कुनै जात विशेषले यो मेरा जातको राज्य हो भन्न नहुने बताउनुभयो ।
देश कुनै जात विशेषको नहुने बताउँदै अध्यक्ष ओलीले नेपाल विविधता बीचको एकताको मुलुक भएको प्रष्ट पार्नुभयो ।


कुनै जात वा समुदाय विशेषको कुरा गर्दा देश अघि बढ्ने नभई ढुङ्गे युगतिर नै फर्कने उहाँले बताउनुभयो । जातको आधारमा हुने सबै खालका विभेद अन्त्य हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । उहाँले भन्नुभयो–आपसमा घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन ।
नेपालमा विकास गर्न सकिने र नेकपा (एमाले)ले गरेर देखाउने अध्यक्ष ओलीले बताउनुभयो ।
माओवादीले आन्दोलनका लागि जातीय राज्यको हुँडलो मच्चाएको उहाँले बताउनुभयो । हिंसा भड्काउने र घृणा फैलाउने खालका कुरा रोक्नुपर्ने ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले ढुङ्गा हान्ने कुरा मानव अधिकारभित्र नपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–त्यसैले ढुङ्गा हान्ने कुरा होइन बसेर छलफल गरौँ । उहाँले देशभक्तिपूर्ण बाटोमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।