एनसेल प्रकरणमा ठूलो आर्थिक अपराधः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)को पुष्पलाल मध्यपहाडी लोकमार्गमा सञ्चालित ‘झुलाघाट– चिवाभञ्ज्याङः समृद्धिका लागि सङकल्प यात्रा’ हिजो सांझ नुवाकोट आइपुगेको छ ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको  अभियान  टोली दसौँ दिन शनिबार बिहान गोरखाबाट धादिङ हुँदै  नुवाकोट आइपुगेको हो ।
साँझ अबेर आइपुगेको टोलीलाई नुवाकोटमा भव्य स्वागत गरिएको थियो । नेकपा एमालेका नेता, कार्यकर्ता, स्थानीय र शुभेच्छुकले टोलीलाई भव्य स्वागत गरेका हुन् ।
नुवाकोटको बट्टारमा ठूलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता, स्थानीय र शुभचिन्तकले दिउँसो मध्यान्हदेखि यात्रा टोलीको प्रतीक्षा गरेका थिए ।
अध्यक्ष ओलीले बट्टारको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतीक्षा, स्वागत र सम्मानप्रति धन्यवाद दिनुभयो ।


अध्यक्ष ओलीले देशको राजनीतिमा अन्योलता र अराजकता व्याप्त रहेको र अर्थतन्त्र जर्जर रहेको यथार्थ बताउनुभयो ।
अध्यक्ष ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताउभयो ।
सो मार्ग नबन्दा व्यापार व्यवसायदेखि बिरामीको उपचारमा समेत समस्या परेको उहाँले बताउनुभयो । नेपालका हरेक क्षेत्रको विकास र विस्तार तीब्र गतिमा हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
अब हिजोको जस्तो निर्वाहमुखी होइन, समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउँदै यही सन्देश लिएर नेकपा (एमाले)ले मङ्सिर १४ गतेबाट अभियान शुरू गरेको उहाँले स्पष्ट पार्नुभयो । यात्राको क्रममा राति १० बजेसम्म पनि नागरिकले पर्खिएर शुभकामना दिएको भन्दै अध्यक्ष ओलीले धन्यवाद दिनुुभयो ।
एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र कुन अवस्थामा पुगेको छ भन्ने नेपालीले अनुभूत गरिरहेको उहाँले बताउनुभयो । जे गरे पनि पाइने, जे गरे पनि हुने अवस्थामा देश पुगेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । अहिले एनसेल कम्पनी प्रकरणमा ठूलो आर्थिक अपराधको काम भइरहेको उहाँको भनाइ छ  । सन् २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले सो कुरा छल्नलाई कम्पनी अर्कालाई बेचेको नाटक गरिएको र यसबाट खर्बौको कारोबार अर्बमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको अध्यक्ष ओलीले भन्नुभयो ।

देशलाई कङ्गाल बनाएर केही मानिसले ढुकुटी भर्ने यस्तो कमिसनको खेल बन्द गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो । यो खेल नेकपा (एमाले) र नेपाली जनतालाई मान्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।
वर्तमानमा गठबन्धन सरकार निकम्मा भएकाले यसको सरकारमा बस्ने हैसित नरहेको उहाँले बताउनुभयो । यो सरकार अब देशको लागि अफाप सिद्ध भइसक्यो, सो सरकारलाई सत्तामा बस्ने अधिकार नै छैन’, उहाँले भन्नुभयो । कार्यक्रम नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा भएको थियो । यसअघि विहान गोरखाबाट हिँडेको टोलीलाई आरुघाट र धादिङमा भव्य स्वागत गरिएको थियो ।