एमाले सरकारमा हुँदा विकास निर्माणका नयाँ नयाँ काम भएका छन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा हुँदा विकास निर्माणका क्षेत्रमा नयाँ नयाँ काम गरेको बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि सङ्कल्प यात्राको क्रममा शुक्रबार बिहान पोखराको तालचोकमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सरकारमा हुँदा पुराना संरचनालाई पनि नयाँ ढङ्गले विकास गरेको बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिका साथै मध्यपहाडी लोकमार्ग लगायतका नयाँ नयाँ सडक संरचना एमालेको पालामा विकास भएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले एमालेको पालामा सडक, पुल, अस्पताल, रेलदेखि पानी जहाजसम्मको काम अघि बढेको सुनाउनुभयो । आफ्नो नेतृत्वको सरकारका समयमा सबैभन्दा छिटो विकासले गति लिएको बताउँदै गठबन्धन सरकारको अढाई वर्षको अबधिमा नेपाल विश्वको गरिब मुलुक बन्न पुगेको उहाँको भनाइ छ । एमालेले शुरू गरेका विकास निर्माणका काम अहिले ठप्प भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
निर्माणको कामलाई छिटो भन्दा छिटो टुङ्ग्याउनुपर्ने, पर्यटन र कृषिलाई आधुनिकीकरण गर्नुपर्ने र हरेक पेसा व्यवसायलाई अघि बढाउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो– हाम्रो देश हामीले बनाउनुपर्छ, हाम्रो देशको युवा शक्तिलाई देशभित्रै राख्नु पर्छ ।
यात्राको क्रममा नागरिकबाट आएका सुझाव सुन्दै ध्यानाकर्षण पत्र बुझ्दै आफूहरू अघि बढेको र  यात्रा सम्पन्न भएपछि ती सबै कुराहरूलाई केलाएर एमालेले मध्य पहाडका समस्या समाधानको योजना बनाउने उहाँले प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– एमाले बाहेक अरू कसैले यो देश बनाउन सक्दैन ।
अहिलेको सरकारमा हुनेहरूबाट देशको लागि कुनै काम हुन नसक्ने भएकाले देशमा एमालेको खाँचो रहेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो– उनीहरू(गठबन्धनमा रहेका दलहरू)को काम एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो, राष्ट्रियताको सवालमा उनीहरूले शिर निहुर्याउने हो, अरू केही गर्दैनन् ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा अभियानमा हिँडेको अध्यक्ष ओली नेतृत्वको टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीका सदस्यहरू, आ–आफ्ना प्रदेशमा  प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ टोली छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि शरू भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।