देशलाई सकारात्मक बाटोमा फर्काउनु अहिलेको चुनौतीः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि देशको नेतृत्व एमालेले गर्नुपर्ने जनताको अपेक्षा रहेकाले  त्यो अपेक्षा पूरा गर्न सिङ्गो पार्टीपङ्ती मिसन–२०८४ सफल बनाउन क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले)को पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्राका क्रममा हिजो (२०८० मङ्सिर २० गते) गुल्मीको मुसीकोट नगरपालिका, वामीटक्सारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको एकल बहुमत भएन भने जनताको अपेक्षा पूरा गर्न नसकिने बताउनुभयो ।
नेकपा (एमाले सरकारमा रहेन भने देश कङ्गाल हुने रहेछ भन्ने दुई वर्षमा नै पुष्टि भएको बताउँदै अध्यक्ष ओलीले देश बनाउन एमाले नै चाहिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो– नेकपा (एमाले)ले बाहेक अरूले यो देश बनाउन सक्दैन, एमालेको एकल बहुमत बिना जनताको सपना साकार हुनेवाला छैन ।
पार्टीले अगाडि सारेको मिसन– २०८४ अभियान एमालेको लागि मात्र नभएर देशको विकासका लागि, राष्ट्रियताको लागि, समृद्धि र सुशासनको लागि भएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले  मिसन–२०८४ मा लाग्न सबै जनसंगठनलाई निर्देशन दिनुभयो ।