प्रतिगमन सोच्ने देशद्रोही हुन्ः अध्यक्ष ओली

दैलेख (राकम) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  अहिलेको अवस्थामा समेत प्रतिगमनका कुरा गर्ने सबै देशद्रोही भएको बताउनुभएको छ ।
नेकपा (एमाले)ले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ को चौथो दिन हिजो (२०८० मङ्सिर १७ गते) कर्णाली प्रदेशको राकम कर्णालीमा आयोजित विशाल सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो ।
लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने तत्व जनताको हित नचाहने देशद्रोही भएको उहाँको भनाइ छ ।
‘वर्तमान गठबन्धन सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशालाई मौकाको रूपमा लिएर प्रतिगमनको दिवास्वप्न देख्नु देशद्रोह बाहेक केही होइन’ अध्यक्ष ओलीले भन्नुभयो– प्रतिगमनको कुरा गर्नु विकास बिरोधी, परिवर्तन बिरोधी, नेपाल र नेपालीको हित बिपरीत वाहेक केही होइन ।