प्रतिक्रियावादीहरू दुलोबाट निस्कने प्रयास गरे पनि राजा बन्ने सपना कुनै हालतमा पुरा हुन्नः अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा बढेको निराशाको मौका छोपेर प्रतिक्रियावादीहरू दुलोबाट निस्केर राजा बन्ने सपना देखे पनि त्यो कहिल्यै पुरा नहुने बताउनुभएको छ ।
पार्टीले शुरू भएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को पहिलो दिन बिहिवार बैतडीको  गोठालपानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले देशमा कुनै पनि हालतमा प्रतिगमन सफल हुन नसक्ने बताउनुभयो ।
गठबन्धन सरकारको हुतिहारा प्रवृतिका कारण जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले अहिले प्रतिक्रियावादी शक्तिहरू दुलोबाट बाहिर निस्कने प्रयास गरिरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– उनीहरूको यो दिवास्वप्न कुनै पनि हालतमा पुरा हुन्न ।


पूर्वी नेपालमा पहिचानका नाममा देखिएको असन्तुष्टिप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले देशको एकतालाई खलल पार्ने खालका कुराले समाजमा बेमेल बाहेक केही नहुने बताउनुभयो ।
पहिचानको सवालमा एमाले सबैभन्दा बढी पक्षपाती र हरेक क्षेत्र, वर्ग, लिङ्ग, जातजातिको पहिचानको संवैधानिक र कानुनी व्यवस्था गर्ने पार्टी पनि एमाले भएको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– पहिचानको राजनीति भनेको अरुलाई घृणा गर्ने, हिंसा गर्ने, जनताको भावनामा चोट पुर्याउने, देश विभाजन गर्ने, समाजमा एकता खल्बल्याउने कुरा हो ।
देशमा अहिले लोकतन्त्रको अभ्यास सहि रूपमा नभएको भन्दै उहाँले सरकारकै कारण देशमा अराजकता, कमिशनको खेल भइरहेको भनाइ राख्नुभयो ।
शहीद दशरथचन्दको जिल्ला बैतडीका समस्या आफूले बुझेको र यहाँ शहीदको राष्ट्रिय प्रतिष्ठान निर्माण गर्नुपर्ने विषयमा हाम्रो ध्यान गएको अध्यक्ष ओलीले बताउनुभयो ।