प्रेतको नलीखुट्टा फुक्दैमा राजतन्त्र फर्कँदैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएका कारण जनतामा निराशा छाएको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटीको बैठकलाई शुक्रबार च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको ध्यान देश, जनता र विकासमा केन्द्रित हुनुपर्नेमा अन्यत्र केन्द्रित रहेकाले जनतामा निराशा छाएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो–सरकारका हरेक गतिविधि जनभावना विपरीत, संविधान विपरीत र राष्ट्रहित विपरीत रहेकाले जनतामा चरम निराशा छाएको छ ।
सरकारले जनतामा आशा, उत्साह र आत्मविश्वास जगाउनुपर्नेमा उल्टै निराशा जगाउने गतिविधि गरिरहेको उहाँको भनाइ छ ।


माओवादी हिंसाका कारण युवाहरू विदेश जानुपरेको अध्यक्ष ओलीले बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनुपर्नेमा सरकारले हिंसाको महिमागान गाएर बसेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिंसा दिवसमा बिदा दिने निर्णय गरेर हिंसालाई प्रश्रय दिन खोजेको अध्यक्ष ओलीले बताउनुभयो ।
युवाहरूलाई निराशाबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको हुँदा त्यसको अगुवाई एमालेका नेताकार्यकर्ताले गर्नुपर्ने उहाँले बताउनुभयो । विद्वान पुर्खाकोे जेनेटिक मेमोरी रहेका नेपाली युवा निराश हुन नहुने भन्दै अध्यक्ष ओलीले सानो भए पनि उद्यम गर्न सुझाउनुभयो ।
गठबन्धन सरकारका कारण युवा विदेश पलायन बढेको, देशको अर्थतन्त्र ओरालो लागेको, जनतामा निराशा छाएको, व्यापार व्यवसाय ठप्प रहेको र देश निक्कै गम्भीर अवस्थामा गुज्रिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले सामाजिक सद्भाव खल्बल्याउने र दण्डहीनतालाई प्रश्रय दिने काम गठबन्धन सरकारले गरिरहेको बताउनुभयो ।
भाँडिएको राजनीतिलाई ठीक ट्रयाकमा ल्याउनुपर्ने र राजनीतिमा देखिएको विकृतिलाई सुसंस्कृतितिर फर्काउनुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले राजतन्त्र काम लाग्दैन भनेर नै नेपाली जनताले १७ बर्ष अघि फालेको बताउँदै त्यो फर्किन्छ भनेर मुर्खहरूले मात्रै भन्दै आएको बताउनुभयो । उहाँले प्रेतका नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र नफर्किने बताउनुभयो ।