विदेशमा विद्यार्थी पठाउन देउवाले डा. केसीसँग सम्झौता गरे : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई पठाएर कारोबार चलाउनेहरूलाई साथ दिएको टिप्पणी गर्नुभएको छ ।

आज शुक्रवार भक्तपुरमा आयोजित पार्टिको २३ औं जनसंगठन रिटर्नी फेडेरेशन नामक जनसंगठनको औपचारिक घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढ्ने सपना बर्बाद पारेको गम्भीर आरोपसमेत लगाउनुभयो ।

उहाँले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाइदा पुर्‍याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गर्नुभयो । उहाँले स्कुल, कलेज बन्द गर्न त्याे सम्झौता भएको र त्यसबारे बुद्धिजीवीहरू मौन बसेकाे भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले सरकारकै कारण देशकाे को अर्थतन्त्र ध्वस्त भएको र बैंकमा तरलताको अभाव देखिएको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो,  ‘हिजो प्रधानमन्त्रीले एक जना कुन डाक्टरसँग नौ बुँदे सम्झौता गरे रे । सात वटा माग पूरा गर्न नौ बुँदे सम्झौता । त्यो सम्झौता किनभने यहाँ नर्सिङ क्याम्पस चलाउन नदिने उद्देश्य हाे । नत्र भने विदेशमा विद्यार्थी पठाउने कम्पनीहरू बर्बाद हुन्छन् । त्यस कारण विदेश पढ्न पठाउनलाई यहाँ खोल्न नदिने । सक्नेले पैसा र छोराछोरी बाहिर पठाऊ, नसक्ने बर्बाद होऊ । विदेशमा विद्यार्थी पठाउने कारोबार चलाउनुपरेको छ यहाँ । स्कुल, क्याम्पस बन्द गर्नुपरेको छ । बुद्धिजीवीहरू मौन छन् । अर्थतन्त्र ध्वस्त छ ।’

अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्डप्रति सङ्केत गर्दै इज्जत नभएकाहरू सधैँ सरकारमा रहने अवस्था रहेको भन्दै व्यङ्ग्य पनि गर्नुभयो । उहाँले आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढ्ने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले माओवादी जनयुद्धका कारण रोजगारीको खोजीमा धेरैजसो युवा विदेश जानुपरेको औँल्याउँदै अब त्यस्तो अवस्थाको अन्त्य भएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *