चिकित्सकहरुप्रति दुर्व्यवहार बन्द गरौं : अध्यक्ष ओली

काठमाडौँ ! नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुप्रतिको दुर्व्यवहार बन्द गरी सम्मान र हार्दिकता विकास गर्न अपिल गर्नु भएको छ।

अध्यक्ष ओलीले बुधबार आजभोलि उपचार गरिरहेका चिकित्सकहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखिरहेको उल्लेख गर्दै उनीहरुप्रति दुर्व्यवहार बन्द गर्न सामाजिक संजालमार्फत अपिल गर्नु भएको छ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ-  मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं । सम्मान र हार्दिकता विकास गरौं ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुमाथि आक्रमण भएपछि अहिले देशभरिका चिकित्सकहरु आन्दोलनमा छन्। सोमबार उपचारका लागि ल्याइएकी एक बिरामी महिलाको निधन भएपछि उनका आफन्तहरुले चिकित्सकमाथि आक्रमण गरेका थिए।