नाजुक अर्थतन्त्रका कारण देशप्रति गम्भीर हुनुपर्ने अवस्था छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र अत्यन्त नाजुक अवस्थामा रहेको र यसप्रति सबैले गम्भीर हुनुपर्ने वताउनुभएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा मंगलबार राजधानीमा आयोजित ‘निजी क्षेत्रसँग नेकपा (एमाले)’ विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले देशको नाजुक अर्थतन्त्रमा  कसरी परिवर्तन ल्याउने भन्ने चिन्ताको विषय भएको वताउनुभयो ।
उहाँले भन्नुभयो– देशप्रति साच्चै गम्भीर हुनुपर्ने अवस्था छ । सामान्य उपचारले हुने स्थिति छैन ।
अध्यक्ष ओलीले नेकपा (एमाले) सरकारमा नरहेको र सरकारमा जाने कुरामा वास्ता, चिन्ता केही नभए पनि देशको नाजुक अर्थतन्त्रप्रति चिन्तित रहेको वताउनुभयो । नेकपा (एमाले) मिसन २०८४ मा केन्द्रित रहेको र २०८४ को चुनावसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ कि रहँदैन भन्ने विषयले चिन्तित तुल्याएको उहाँले बताउनुभयो ।
सरकारको आर्थिक बर्ष २०८०÷८१ कोे बजेट अर्थतन्त्रलाई ध्वस्त पार्ने बजेट भएको तर निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले इतिहासकै राम्रो बजेट भनी हतार हतार स्वागत गरेको सुन्दा आफूलाई आश्चर्य लागेको स्मरण गर्दै अध्यक्ष ओलीले महासंघले अलि बढी राजनीति गरेकोे वताउनुभयो ।
उहाँले देशको अर्थतन्त्रप्रति गठबन्धनको कुनै चिन्ता देखिँदैन, केवल सरकार टिकाउनेतिर मात्र ध्यान छ भन्नुभयो ।
देश जसरी अघि बढ्नुपर्ने हो त्यस्तो हुन नसकेको वताउँदै अध्यक्ष ओलीले उत्पादन बढाउने बाहेक अन्य कुनै उपाय नभए पनि त्यसका निम्ति सरकारले कुनै कदम नचालेको प्रष्ट पार्नुभयो ।
यस्तै अवस्थाबाट अब देश अगाडि बढ्न नसक्ने भन्दै उहाँले सरकारलाई सुझाव दिने समय गुज्रिइसकेकाले दबाबमूलक गतिविधि अगाडि बढाउन उद्योगी व्यवसायीलाई सुझाउनुभयो ।  अध्यक्ष ओलीले उद्योगी व्यवसायीका दबाबमूलक गतिविधिमा एमालेको साथ रहने विश्वास दिलाउनुभयो ।
देशको अर्थतन्त्रको अवस्था र उद्योगी व्यवसायीका समस्याका बारेमा सरकार र राष्ट्र बैङ्कका अधिकारीहरूसँग छलफल गर्ने विश्वास दिलाउँदै अध्यक्ष ओलीले राष्ट्र बैङ्कले बैङ्कहरूलाई निर्मम साहुजी जस्तो होइन, उद्यमका सहयोगी बनाउनुपर्ने धारणा राख्नुभयो ।
सरकारले काम सकेका निर्माण व्यवसायीलाई भुक्तानी नदिएबाट आर्थिक तरलताको अभाव भन्दा यसको असर गम्भीर रहेको र  विकासका काम ठप्प भएको उहाँको भनाइ छ ।