बागमतीका नेताहरुलाई अध्यक्ष ओलीको चेतावनीः प्यानल बनाएर प्रतिस्पर्धा गरे उम्मेद्वारी खारेज गर्छु

काठमाडौँ ! एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्न चेतावनी दिनुभएको छ।

सोमबार बागमती प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दैै अध्यक्ष ओलीले गुटगत आधारमा प्रतिस्पर्धा नगर्न निर्देशन दिनुभएको हो। सोमबार सुरु भएको बागमती प्रदेशको अधिवेशन मंगलबार नयाँ नेतृत्व चयनका लागि बन्दसत्र हुँदैछ। प्रदेश नेतृत्वका चुनावी प्रतिस्पर्धामा जाने तयारी गरिरहेका अध्यक्ष ओलीले गुटगत आधारमा प्रतिस्पर्धा नगर्न निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो, ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुन्छ। अध्यक्ष मण्डलले त्यो अधिकारसहित काम गर्नुहोस्। दुई फ्याकमा बाँड्ने अभ्यास नगरौं। स्वस्थ प्रतिष्पर्धा गर्नुहोस्। हारजित स्वीकार्नुहोस्।’

बागमती प्रदेशको अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने बलियो संभावना बन्दै गएको अवस्थामा अध्यक्ष ओलीले प्यानलगत प्रतिस्पर्धालाई निषेध गर्ने नीति लिनु भएको हो। अध्यक्ष ओलीले बागमतीका नेताहरुलाई सकेसम्म सर्वसम्मत रुपमा प्रदेशको नेतृत्व छान्न आग्रहपनि गर्नुभयो।